काठमाडौं, मंसिर १६ । कोरोनाका कारण बन्द रहेको नेपाल भारत हवाइ उडान अब भने खुल्ने भएको छ । करिब आठ महिनापछि भारतीय र नेपाली नागरिक मात्रै यात्रा गर्ने गरी नेपाल–भारत अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नेपाल सरकारले ०७६ चैतबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।सरकारले विदेशमा अलपत्र परेका नेपाली ल्याउने भन्दै खाडी देशमा भदौमै नियमित उडान खोले पनि भारतमा भने उडान खुल्ला गरेको थिएन।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको प्रस्तावअनुसार उडान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। लामो समय रोकेर राखेको प्रस्ताव मंसिर १० गते मन्त्रिपरिषद्ले पारित गरेको हो।
मन्त्रिपरिषद्ले पारित गरेको निर्णय सोमबारमात्रै उड्डयन मन्त्रालयमा आइपुगेको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान खोल्न अनुमति दिएपछि उडानको प्रक्रिया अघि बढ्नेछ।यता लामो समय उडान बन्द भए पनि भारत र नेपालबीच आउजाउ भने सडकमार्गको बाटोबाट भइरहेको छ। सरकारले अरु देशका नागरिकलाई हवाइ यात्रा गर्न दिने तर भारतमा भएका नेपालीलाई हवाइ उडान गर्न नदिएको भन्दै विरोध हुँदै पनि आएको छ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालको लागि दैनिक दुई उडान मात्रै गर्ने बताएको छ। नेपाल वायुसेवा निगमको एक र भारतीय एयरलाइन्सले एक उडान गर्ने गरी अनुमति दिइने मन्त्रालयले बताएको छ।
नियमित उडान नखुल्दासम्म तेस्रो देशका नागरिक भने आउजाउ गर्न पाउनेछैनन्। स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालीहरु भारत र भारतीय नेपाल आउन भने कुनै रोक लगाइनेछैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८