बारा/ करैयामाई गाँउपालिका वडा नं ८ नरहीटोल घर भएकी सर्मिला महतो (नाम परिवर्तन) का लोग्ने दिनुहुँ रक्सी सेवन गरेर बालवच्चा र श्रीमतीलाई कुटपिट गर्दछन् । ‘पैसा मिल्यो कि रक्सी खाएर आउछन्, धेरै पटक दोकानदारलाई पनि भने तर केही लागेन’ महतोले गुनासो गरिन् । घरमा २ वटा बालवच्चा छन् । खेतीपातीको आम्दानीले घरपरिवारको खर्च टार्न धौ धौ हुने गरेको महतोको गुनासो छ ।
दलित महिला केन्द्रले कोहल्वीमा आयोजना गरेको एक कार्यक्रममा महतोले सो गुनासो गरेकी हुन् । ‘सबैभन्दा ठुलो समस्या घरेलु मदिरा हो,यस्लाई बन्द गराउनुपर्यो भन्ने हाम्रो माग हो, घरमा रक्सी खाएर आएपछि नबोल्ने मान्छे धेरै बोल्ने झगडा गरेर वच्चाहरुपनि त्रसित छन्’ महतोले भनिन् ‘पाकेको खाना फ्याँक्ने, वालवच्चालाई कुटपिट गर्ने, हल्ला गर्ने गर्दछन्’ महतो जस्तै कोल्हवी १ खैरकाँटा घर बताउने विनिता माझी (नाम परिवर्तन) पनि घरमा सासु,शसुराले सधै घरेलु मदिरा सेवन गरेर आउने र झगडा गर्ने गरेको बताउछन् ।
‘घरमा सासु ससुराले सधै रक्सी खाएर आउने छोरा, बुहारीको अगाडी अपशब्द बोल्ने गर्दछन् घर झगडाको सबैभन्दा मुख्य कारण घरेलु मदिरा नै हो’ माझीले भनिन् ‘रक्सी खाएर आएपछि नबोल्ने मान्छे पनि बोल्ने, जबरर्जस्ती झगडा गर्ने, त्यसैले हामी सबै महिला दिदीबहिनी मिलेर गाँउमा रक्सी बन्द गराउने हाम्रो योजना छ’ ग्रामिण भेगमा गरिव, दलित तथा विपन्न परिवार समुदायले घरेलु मदिरा उत्पादन गर्ने र खुल्ला बिक्री वितरण गर्दा समस्या भएको महिलाहरुको गुनासो छ ।
सस्तो मुल्यमा पाईने घरेलु मदिरा सेवनका कारण दैनिक ज्यालादारी गर्ने धेरैको अकालमा मृत्यु समेत हुने गरेको छ । घरेलु मदिराको उत्पादन तथा खुल्ला बिक्री वितरण रोक्न प्रहरी, प्रशासनले चासो नदेखाएको स्थानिय महिलाहरुको भनाई छ । ‘प्रत्येक दिन रक्सी खाएर झगडा हुन्छ, बिक्री वितरणमा प्रहरी प्रशासनले पनि वेवास्ता गर्ने गरेको महिलाहरु बताउछन् । अधिक रक्सी सेवनका कारण लोग्नेको मृत्यु भएपछि माछा मारेर ४ वटा छोराछोरी पाल्दै आएकी अर्की एक महिला ‘मैले नगरपालिकाबाट सहयोग मागेर लोग्नेको उपचार गराए तर, बचाउन सकिन’ ।
कोहल्वी नगरपालिका वडा नं ९ कि जनप्रतिनिधि मैनामती समुदायभित्र घरेलु मदिराका कारण धेरै हिंसाका घटना हुने गरेपनि यस्को खुल्ला बिक्री वितरण रोक्न समस्या भएको बताउछिन् । ‘मैले मेयरसाब सँग पनि यहि भनेको घरेलु मदिरा बिक्री विररण नियन्त्रण गर्न पाए धेरै हिंसाका घटना कम हुन्थ्यो’ महिला सदस्य मैनामतीले भनिन् । ‘मदिराका कारण हुने हिंसाका घटनामा महिलालाई कुटपिट गर्ने पुरुषलाई कारवाही गर्र्दा भोलीपल्ट स्वास्नी छोराछोरी कसरी पाल्ला भन्ने पिर,घरेलु मदिरा बन्द गर्न गयो भने पेशा नै यहि हो भन्छन्, पेशा यहि हो त अर्कालाई खुवाएर झगडा बनाउन भएन नि ?’ ग्रामिण भेगमा घरेलु मदिराका कारण हुने हिंसाका घटनामा स्थानिय तह, प्रहरी प्रशासनको ध्यानाकर्षण हुनुपर्ने महिला सदस्य मैनामतीले बताईन् ।
यता कोहल्वी नगरपालिका नगरप्रमुख रामप्रसाद चौधरीले नगरपालिकामा आएका महिला हिंसाका घटनामा गम्भिर ढंगले लिएको बताए । ‘हामीकहाँ आएको उजुरीमा हामीले गम्भिर ढंगले हेरेर सक्दो न्यायदिने प्रयास गरेका छौ’ नगरप्रमुख चौधरीले भने ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८