बारा/भदौ २९
पूर्वमन्त्री तथा बारा ४ का संघीय सांसद किसान श्रेष्ठले आफु बारा ४ नं क्षेत्रका सबै जनताको साझा जनप्रतिनिधि भएकोले कसैलाई काखापाखा नगर्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था सिमराको नवौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रममा बोल्दै संघीय सांसद श्रेष्ठले मंसिर ४ अघि तत्कालिन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कलम चिन्ह्र लिएर उम्मेदवार भएपनि मंसिर ४ पछि सबैको साझा जनप्रतिनिधि भएको बताएका छन् । ‘मंसिर ४ गते पछि म बारा ४ नं क्षेत्रको सबै जनताको साझा जनप्रतिनिधि हुँ, कसैलाई काखापाखा गर्ने यो टोल बाट मलाई भोट आयो यो सहकारीबाट भोट आएन भनेर पक्षपात गर्दिन’ संघीय सांसद श्रेष्ठले भने ‘जनताको माया, भरोसा विश्वासलाई टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउदछु’ ।
पूर्वमन्त्री श्रेष्ठले सबै काम जाँदुको छडीजस्तो नभएपनि बारा ४ मा विकासको सुरुवात भएको बताएका छन् । ‘दुरुसंञ्चारदेखि औराहा जाने बाटो,सिमरा विमानस्थल जाने बाटो, गढीमाईदेखि चिनी मिलसम्म जाने बाटो,फेटा, विश्रामपुर गाँउपालिका सहित धेरै ठाँउमा विकासका काम भएका छन्’ पूर्वमन्त्री श्रेष्ठले भने ‘म निर्वाचित भएको १ वर्ष पनि पुगेको छैन तपाईहरुले मलाई ५ वर्षको लागि विश्वास गर्नुभएको छ त्यसले मैले मेरो दिमाग र बुद्धीले भ्याएसम्म यो क्षेत्रको विकासको लागि यहाँका जनप्रतिनिधिहरु,मेयर,उपमेयर वडाध्यक्षहरु प्रदेश सभाका सदस्य सबैसँग हातेमालो गर्दै म काम गर्न तयार छु’
पूर्वमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्था धरासायी भएर सहकारीहरु भागाभाग हुदै गएको अवस्थामा साना किसान कृषि सहकारीले सेयर सदस्यहरुलाई १४ प्रतिशत लाभाशं वितरण गर्नु प्रशंसायोग्य काम भएको बताएका छन् । साना किसान कृषि सहकारी संस्थाको शुक्रवार भएको अधिवेशनले कमलाकुमारी रिमालको अध्यक्षमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जस्मा वरिष्ठ उपाध्यक्षमा लक्ष्मि बस्नेत, उपाध्यक्षमा श्यामा सापकोटा,सचिवमा मिरा पुरी,कोषाध्यक्षमा पुनमदेवि महतो र सदस्यहरुमा केशव थापा,अरिविन्द साह, इन्दिरा दहाल,कोपिला लामिछाने,सुमित्रा ढकाल,ज्योति शर्मा,लक्ष्मि पाण्डे र पार्वती भुजेल रहेका छन् ।
करिव २ हजार सेयर सदस्य रहेको साना किसान कृषि सहकारी संस्थाको २०७९÷०८० मा १ करोड ६७ लाख ६२ हजार २ सय शेयर पूँजी, ३ करोड ९४ लाख ४१ हजार वचत रकम संकलन रहेको छ । संस्थाले सेयर सदस्यहरुमा १६ करोड २२ लाख ऋण लगानी गरेको छ चालु आर्थिक वर्षमा संस्थाले ७३ लाख ४७ हजार नाफा आर्जन गरेको छ । संस्थाले सेयर सदस्यहरुलाई १४ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको अध्यक्ष कमलाकुमारी रिमालले जनाएकी छिन् । करिव ९० प्रतिशत महिला सेयर सदस्य रहेको संस्थाले वार्षिकोत्सवको अवसरमा महिलाहरुको महान् पर्व हरितालिका तिजको शुभकामना आदानप्रदान तथा नाचगान कार्यक्रम समेत गरेको थियो । हरितालिका तिजको अवसरमा संघीय सांसद श्रेष्ठले आफु जनताको सुख दुखको सारथी भएकोले बारा ४ जनताले बोलाएको हरेक ठाँउमा पुग्ने बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८