काठमाडौं, फागुन १८ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्याँस बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिकिलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल समान ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धन ७२ रुपैयाँ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर आठ सय ९३ डलर प्रतिलिटर पुगेको छ । इन्डियन आयल कर्पोरेसन ९आइओसी० ले १ मार्च ९सोमबार दिउँसो० मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।
‘हामीले खरिद गर्ने इन्धनको मूल्य नै बढेर आएको छ । त्यसैले हामीले पनि यहाँ स्वचालित मूल्य प्रणालीअनुसार वृद्धि गर्नुको विकल्प नभएको हो,’ उनले भने । आयल निगमले पछिल्लो १५–१५ दिनमा मूल्य वृद्धि गर्न थालेको छ । आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने भएकाले हाल वृद्धि भएर आइरहेको र नेपाली बजारमा समायोजन गर्नुपरेको निगमले तर्क गर्दै आएको छ ।
सोमबार दिउँसो आइओसीबाट नयाँ मूल्य आउँदा साबिकको खरिददरको तुलनामा पेट्रोल ४।१९ रुपैयाँ र डिजेल ४।०६ रुपैयाँ वृद्धि भई आएको छ । आइओसीले पठाएकोभन्दा आधा मूल्य मात्रै बढाएर नेपाली बजारका लागि बिक्री मूल्य निर्धारण गरेको भन्दै मूल्य वृद्धिपछि पनि निगमलाई अझै नोक्सान रहेको निगमले जनाएको छ ।
मूल्य वृद्धिपछिको बिक्री दरमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनसम्ममा निगमलाई एक अर्ब ३२ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भइरहेकाले निगमले चर्को घाटा सहनुपरेको दाबी गर्दै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८