मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर एक महिनादेखि जारी विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिएका छन् ।
नेपाल बार एशोसिएसनसँग शुक्रबार बिहान छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताएका हुन् ।
नेपाल बारका महासचिव लिलामणि पौडेलले कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नु भएको छ,’ पौडेलले भने ।
बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको प्रधानमन्त्रीले बताएको पनि पौडेलले जानकारी दिए ।प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेको पौडेलले बताए ।
’हामीले अब उहाँको बहिर्गमनको विकल्प छैन, उहाँ बाहिरिनु पर्छ भनेका थियौं । प्रधानन्यायाधीशको बहिर्गमनका लागि भूमिका निर्वाह गर्नका लागि कार्यपालिका प्रमुखको हैसियतले भूमिका खेल्न पनि आग्रह गरेका छौं,’ उनले भने ।
प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशबारे छलफल गर्न बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायतले प्रधानन्यायाधीशबारे कुरा राखेको पौडेलले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८