निर्यात व्यापारले छलाङ मारेको चालु आवमा आयातको वृद्धिदर समेत कम भने छैन । चालु आवको पहिलो ५ महिनामा वस्तु आयात ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो ।
गत आवमा यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात र निर्यात दुवैको आकार बढ्दा यसले वैदेशिक व्यापारको आकार समेत उल्लेख्य बढाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।
व्यापार घाटा ७ खर्ब ३५ अर्ब
नेपालमा निर्यातको वृद्धिदर दोब्बर देखिएपनि आयातको तुलनामा हिस्सा भने कम छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार भने घाटामा छ । यस्तो घाटा ५ महिनामा ७ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.९३ प्रतिशत र आयातको हिस्सा ८९.०७ प्रतिशत रहेको छ । यस अवधिमा भएको व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा ५४.७० प्रतिशत बढी हो । गत आवमा मंसिर मसान्तसम्म ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
एक महिनामा २१ अर्बको निर्यात, १ खर्ब ८७ अर्बको आयात
बैंकिङ प्रणालीले चरम तरलता अभावको सामना गरेको मंसिर महिनामा मात्र नेपालले २० अर्ब ८० करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । आयात भने झण्डै दुई खर्ब बराबरको गरेको छ ।
मंसिरमा आयात १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको भएको छ । आयातको आकार अत्याधिक भएपछि सरकारले हालै विलाशीताका वस्तु आयातमा केही कडाइ गरेको छ ।
यस्तो छ पाँच महिनाको वैदेशिक व्यापार
- आयात : ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ (५९.५५ प्रतिशत बढेको)
- निर्यात : १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ (१०५.६१ प्रतिशत बढेको)
- व्यापार घाटा : ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ (५४.७० प्रतिशत बढेको)
- कुल वैदेशिक व्यापार : ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ (६३.५५ प्रतिशत बढेको)
- व्यापारमा आयातको हिस्सा : ८९.०७ प्रतिशत (२.४५ प्रतिशत घटेको)
- व्यापारमा निर्यातको हिस्सा : १०.९३ प्रतिशत (२५.७२ प्रतिशतले बढेको)
निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्दैन
नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थको आयात मात्र पनि धान्न नसक्ने अवस्था छ । यो मंसिर महिनासम्मको तथ्यांकले समेत पुष्टि गरेको छ ।
तथ्यांक अनुसार मंसिरसम्म १ खर्ब २२ अर्ब १९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो कुल वस्तु निर्यातको तुलनामा २० अर्ब रुपैयाँ बढी हो । ५ महिनामा फलाम तथा स्टिलको आयात ७० अर्ब ४४ करोड रुपैयाँको भएको छ । यस अवधिमा ५३ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।
वनस्पति तेल तथा घिउको आयात ६९ अर्ब ८४ करोड रुपैयाँको भएको छ । निर्यातमा समेत सोही उत्पादनको हिस्सा बढी छ । यस्तो वस्तुको निर्यात ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ ।
५ महिनामै १९ अर्ब ५७ करोडको तरकारीजन्य आयात हुँदा निर्यात भने मात्र ४२ करोड १४ लाख रुपैयाँको भएको छ । यस अवधिमा विद्युतीय उपकरण तथा त्यसको पार्ट्स आयातमा मात्र ५७ अर्ब २५ करोड रुपैयाँ विदेशिएको छ ।
भारतसँग मात्र सवा ४ खर्ब व्यापार घाटा
मंसिरसम्म नेपालले भारतबाट कुल ५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहेको छ । निर्यात समेत सोही मुलुकसँग धेरै रहेको छ ।
तथ्यांक अनुसार भारतमा नेपालबाट ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ । यसले भारतसँग कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखाएको छ । चीनबाट यस अवधिमा १ खर्ब २२ अर्बको सामान नेपाल आएको छ ।
नेपालबाट भने ३८ करोड १६ लाख रुपैयाँ बराबरको सामान मात्र चीन गएको छ । अमेरिकाबाट १८ अर्ब ८८ करोडको सामान आयात हुँदा ७ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतपछि बढी निर्यात हुने मुलुक अमेरिका हो । नेपालको वैदेशिक व्यापार १४४ भन्दा बढी मुलुकसँग रहेको छ ।