पुस २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने दावी गरेका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएकाले विश्वासको मत पाउने बताए ।
‘२६ गते यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ अध्यक्ष ओलीले भने ।
अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको बताएका हुन् ।
पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले दावी गरे ।
अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए ।
ओलीले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गरे ।नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताएका थिए ।
‘अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहे छन्’, ओलीले भने, ‘अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ। यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्दा संवैधानिक व्यवस्था भुलेर जिल्लिन पुगेको पनि बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८