काठमाण्डौं । प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ताको अभियान थालेको छ । पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागेको हो ।
इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको हो । बिहीबार साँझ उनीहरूलाई स्वदेश ल्याइपुर्याउने सेड्युल छ । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान भएको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन् ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आफू पनि नागरिकको उद्धारमा प्रत्यक्ष सहभागी हुन लागेको परराष्ट्रमन्त्री साउदले बताए । ‘हामी इजरायलमा गएका हाम्रा युवा विद्यार्थीलाई आत्मविश्वास जगाउन, उहाँहरूको पीडामा ऐक्यबद्धता जनाएर देश फर्काउन चाहन्छौँ । यही उद्देश्यसाथ इजरायल जाँदै छु,’ इजरायल प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री साउदले नयाँ पत्रिकासँग भने, ‘यो दुस्खको समयमा हामी राष्ट्रिय एकता अभिव्यक्त गर्न चाहन्छौँ । यो सबैबाट होस् भन्ने सरकारको अभिप्राय छ ।’ परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि उद्धारका लागि इजरायल जाने टोलीमा छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाल एयरलाइन्सको चार्टर विमानबाट पहिलो चरणमा दुई सय ५४ विद्यार्थीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिइन् । ‘हामी पहिलो चरणमा विद्यार्थी भाइबहिनीलाई उद्धार गर्छौँ । बाँकी रहेकालाई भविष्यमा व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउँछौँ,’ रिजालले इजरायलको राजधानी तेलअभिभबाट टेलिफोनमा भनिन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल भन्छिन्–
हामी पहिलो चरणमा विद्यार्थी भाइबहिनीहरूलाई उद्धार गर्छौँ । बाँकी रहेकाहरूलाई भविष्यमा व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउँछौँ ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९स्१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११स्१० बजे उडेर दुबई हुँदै साँझ ८स्२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका छ । काठमाडौंबाट दुबईसम्म व्यापारिक उडानबाट जहाज जानेछ ।
नेपाली दूतावासका अनुसार बिहीबार बिहानसम्म स्वदेश फर्किने चाहना राखेका सबै विद्यार्थी इजरायलको राजधानी तेलअभिभ पुग्नेछन् । बुधबार साँझसम्म ५५ जना नेपाली विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयका २३ छन् ।
उपचाररत अवस्थामा रहेका सुदूरपश्चिम विश्वविद्यालयका चारजना विद्यार्थीमध्ये दुईजना डिस्चार्ज भएका छन् । उनीहरूसँगै रहेका, तर हाल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८