काठमाडौं । नवरात्र सुरु भएसँगै दसैँ मनाउन काठमाडौंबाट घर जानेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो दुई दिनमा मात्रै ९बुधबार र बिहीबार० दुई लाख हाराहारीले काठमाडौं छाडेको तथ्यांक छ । घर जानेहरूको संख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडकखण्डमा यात्रु र सवारीसाधनको चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार ९८ हजार यात्रुले उपत्यका छाडेका छन् । त्यस्तै, बिहीबार उपत्यका छाड्नेको संख्या एक लाखभन्दा बढी छ । घटस्थापनायता सार्वजनिक सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिनेको संख्या चार लाख ६५ हजारभन्दा बढी रहेको प्रहरीको तथ्यांक छ । अझ यो तथ्यांक शुक्रबार तथा शनिबार बढ्ने अनुमान छ । सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत शनिबारदेखि केही दिनका लागि बन्द हुने भएकाले फूलपातीदेखि उपत्यका छाड्नेको संख्या एक लाख २० हजारभन्दा बढी हुने अनुमान गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार उपत्यका छाड्ने यात्रुहरूको चाप दिन–प्रतिदिन बढ्दो छ । ट्राफिक प्रहरीले उपत्यकाका १५ भन्दा बढी ठाउँमा यात्रु सहायता कक्ष राखेर यात्रुहरूलाई सहायता गर्दै आइरहेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनलाई पनि चुस्त पार्न अन्य समयको तुलनामा बढी ट्राफिक परिचालन गरिएको छ । ‘उपत्यका छाड्नेको संख्या बढ्दो छ, यो संख्या अझ बढ्छ ।’ उनले भने, ‘चाडबाडमा हुने दुर्घटना रोक्न हामीले सवारीसाधन चेकजाँचलाई तीव्र बनाएका छौँ ।’
हालसम्म सडकमार्ग हुँदै सार्वजनिक सवारीसाधनमार्फत बाहिरिनेको संख्या चार लाख ६५ हजार छ । तर, उपत्यकाबाट बाहिरने संख्या यति मात्रै होइन । घटस्थापनायता निजी सवारीसाधनबाट घर फर्कनेको संख्या पनि ठूलो छ । ट्राफिक कार्यालयका अनुसार मोटरसाइकलबाट एक लाख, अन्य निजी सवारीसाधनबाट एक लाख र हवाईमार्गबाट ४० हजारभन्दा बढी यात्रुहरू बाहिरिसकेका छन् । यो सबै जोड्दा करिब सात लाख पाँच हजार हुन आउँछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८