काठमाडौं। चालु वर्षका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानी पाउनु पर्ने माग सहित सर्लाहीका उखु किसान आन्दोलित भएका छन् ।
गत वर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी पाएको र बाँकी प्रति क्विन्टल रु ४९ अनुदान बापतको रकम यथाशीघ्र भुक्तानी पाउनुपर्ने उनीहरुको माग रहेको छ ।
साथै चालु वर्षको लागि उखुको मूल्यप्रति क्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरुको भनाइ रहेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरी गत शनिबारदेखि नै आन्दोलनका कार्यक्रमहरु जारी रहेको जानकारी दिए । उनका अनुसार चालु वर्षका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रति क्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रति क्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गरिनुपर्ने लगायतका किसानको माग रहेको छ ।
नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताए । उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रति क्विन्टल रु सात सय ५० हुनुपर्ने, गत वर्ष उखु बिक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबिच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८