काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रण गर्नलाई सिसी क्यामरा जडानलाई प्राथमिकता दिएको बताएका छन् ।
टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उनले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
“काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिने”, उनले भने ।
एआइजी थापाले काठमाडौँ उपत्यकाभित्र हालसम्म तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताए । उनले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडान गर्ने कामलाई अगाडि बढाइएको उल्लेख गरे । उनका अनुसार नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोँगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताए । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति भएको ठाउँमा त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताए ।
नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको सो भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिए । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्ने उल्लेख छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८