काठमाडौं । नेपाल विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रले समयमै विधुत महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियान अन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आ.व.को पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिए ।
एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको हो । केन्द्र अन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न अझै बाँकी रहेको छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन गरिएको थियो ।
यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विधुत प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक रहेका छन् ।
विधुत महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था समेत रहेको छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान रहेको छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विधुत महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ ।
यसैगरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था रहेको छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विधुत महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विधुत काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८