काठमाडौं । अलैँचीको भाउ तेब्बरले बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची अहिले चार वर्षयताकै उच्च मूल्यमा बिक्री भइरहेको छ ।
अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर भए पनि सबै अलैँची रोपिन्छु, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले बताइन, कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुनेभयो । गएको वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताए। गत वर्ष यसयाममा प्रतिमन २८ हजार रुपैयाँसम्म भाउ पाइएको थियो र अहिले राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको उनले बताए । अहिले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दो रुपमा छ ।
किसान तथा व्यापारीसँग मागअनुसार अलैँची पर्याप्त नभएकाले यो वर्ष भाउ बढेको उनले बताए। रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा फर्काउने प्रयत्न गरेका छन् । सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । वर्षमा कम्तिमा पनि २७ देखि ३१ मनसम्म उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक आठ/दश लाख रुपैयाँ बचत हुन्छ उनले भने । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् ।
प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेका छन् । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन हुने गर्दछ ।
यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा यो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क रहेको छ । गत आ.व.मा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो ।
गत वर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो । अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । गएको वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आ.व.मा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको छ ।
दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घरखर्च चलाउने मात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका प्रायजसो किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी नै ठप्प भयो । बिस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाख रुपैयाँसम्म पनि पुग्यो ।
रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन् । पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ किसान शेरेङले भने, रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो । उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढ्ने बताए ।
प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो । किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन् । घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरुको भनाइ रहेको छ । किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादनमा झन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा पालिका भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै पालिकामा आंशिकरूपमा खेती हुँदै आएको छ । अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ र यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनबाट धेरै उत्पादन लिन सकिन्छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८