काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि भोलि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगले जानकारी दिएकाे छ । मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उक्त निर्वाचनका लागि आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था रहेको छ । कानूनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताको नामावली प्रकाशित तथा दाबी विरोधलगायतका कार्य पूरा भई आजै मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ ।
उम्मेदवारी उपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न भने यही पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।
यस निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक–एक मतदानस्थल र दुईदुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । माथिल्लो सदनका रुपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्ष हुन्छ ।
अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायका सदस्यको चयन हुनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८