काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ।
बर्सेनी भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो।
भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए।
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो।
दुग्ध उत्पादक सहकारी संस्थाको ४२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिए। प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए।
प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ। त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताए।
यसका साथै, सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसीले सान्त्वना पुरस्कार पाउन सफल भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव धमलाले जानकारी दिए।
भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख डा. दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहेका थिए।
भैँसीको स्वास्थ्य, रूप, जीउडाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरिएको थियो।
प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।
पछिल्लो समय किसानले भैँसी पाल्न छाडेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए। भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि बर्सेनी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए।
विगतका वर्षमाभन्दा यस वर्ष किसानकै घरदैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको थियो।
दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, बिक्री वितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८