काठमाडौँ। काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन्।
कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरू गरेकामा १० हजार बढीले आवेदन दिएका हुन्।
कामपा सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ। यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन्। उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ। वैशाख २० गतेपछि फाराम भर्नेहरूको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिइन्।
‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब ५ हजार जनाले फाराम भर्नुभएको छ। विभिन्न वडाहरूबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ। अहिले पनि फाराम भर्न रोकिएको छैन,’ प्रमुख कोइरालाले भनिन्।
फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिइन्।
कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरू गरिएको कोइरालाले जानकारी दिए। मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ। मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ। मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ।
१८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिइन्। अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो। यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिइन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८