ललितपुर। राजधानी काठमाडौंबाट संघीयराजधानी हेटौडा जाने छोटो सडकमार्ग कान्तिलोकपथ दैनिक २१ घण्टा बन्द गरेर तीन घण्टा मात्र खुल्ने भएको छ।
मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो।
“मर्मतसम्भारका लागि ललितपुरको काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ। मर्मतको काम जारी छ। अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ”, आगामी जेठ १५ गतेसम्म बाटो तीन घण्टासम्म खुल्ने कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले बताएका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो।
बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।
“यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर चौडा गर्न लागिएको हो। सडकमाथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो”, इन्जिनियर महर्जनले भने।
यो सडक ६७ वर्षदेखि निर्माणाधीन छ। हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि–टीकाभैरवसम्मको ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छभने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ। टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड भने चौडा हुन सकेको छैन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८