काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समय सापेक्ष बनाइने बताए।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताए। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
“कानून बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो। तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन हुन्छ”, मन्त्री साहले भने।
मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख, २००० (पार्लेमो प्रोटोकल) कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्नुपर्नेमा जोड दिए।
पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको थियो। नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन।
कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्याल, अधिवक्ताद्वय रोजिना श्रेष्ठ र विनोदचन्द्र देवकोटा लगायतले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि यथाशीघ्र मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ संशोधन हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८