काठमाडौं । आज (आइतवार) बिहानदेखि जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ। हिमपातपछि हवाई सेवा पनि अवरुद्ध भएको छ।
अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदमा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीलाई राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीयले बताए। हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ।
निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले बताइन्। अहिले लगातार हिउँ परेको छ। सरकारी कार्यालय खुले पनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ।
जिल्लाको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हिउँ परेपछि सदरमुकाम खलंगाको बजार बन्द भएको छ। यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन्।
हिमपातबाट हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालयले जनाएको छ। स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको छ।
हुम्लामा पनि हिमपात‚ उडान बन्द
हुम्लामा आज बिहान हिमपात भएको छ। यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो। शनिवार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरिएर बाक्लो बादल लागेर आज बिहान हिमपात भएको हो।
विहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमिकोटमा १ इञ्चभन्दा बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा २ इञ्चभन्दा बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताए।
स्वास्थ्यकर्मीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको छ। चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको उनले बताए।
चिसोका कारण घरबाहिर निस्कन र हिँड्डुल गर्न पनि समस्या भएकाे बताए। उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ।
उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा विहान हिमपात भयो भने होचो स्थानमा पानी परेको छ।
यो पटक लगातारजस्तै हिमपात भएकाले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउन सहयोग भएको स्थानीयले बताए।
हुम्लालाई अन्तर जिल्ला जोड्ने एकमात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। नेपालगञ्ज, सुर्खेतबाट उडान गर्ने निजी एयरलाइन्सका सेवा पनि अवरुद्ध भएको हो।
आज बिहानैबाट हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन सकेको छैन भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन्।
शनिवार तारा एयरले नेपालगञ्जबाट एउटा उडान गरेको सिमकोट शाखा कार्यालयल जनाएको छ। अन्य कुनै पनि हवाईजहाजले उडान भर्न सकेको छैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८