काठमाडौँ। २०७७ सालमा बनाउन शुरू गरेका ३९६ वटा आधारभूत अस्पतालमा दुई वर्ष पनि पुग्दा हालसम्म ५० वटा मात्रै अस्पताल बनेका छन्।
स्वास्थ्य सेवातर्फ निकै महत्त्वपूर्ण रहेका ५, १०, १५ शय्याका आधारभूत अस्पतालमा जम्मा ५० वटाको मात्रै निर्माण सम्पन्न भएको हो।
निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सरकारले चालू आर्थिक वर्षमा १०० वटा अस्पतालको निर्माण जसरी भए पनि सक्ने र त्यहाँबाट सेवा दिने लक्ष्य लिएको थियो तर सोही लक्ष्यअनुसार सफल नभए पनि ५० वटाको मात्रै निर्माण कार्य सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. श्रवण कुमार थापाका अनुसार चालू आ.व.मा निर्माण सम्पन्न ५० वटा आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण वितरण गर्ने सम्झौता पनि हालै भएको छ। ‘हाम्रो अबको चुनौती भनेको आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउने हो तर अहिलेसम्म निर्माण पूरा भएका ५० वटा जति अस्पताललाई उपकरण दिने सम्झौता भइसकेको छ। अब बन्दै गरेका अरूलाई पनि आगामी आवमा वितरण गर्छौँ’‚ डा. थापाले भने।
चालू आ.व.मा सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका लागि ८ अर्ब बजेट विनियोजन गरेको थियो भने यो वर्ष निर्माण सम्पन्न हुने लक्ष्य राखिएको १०० अस्पतालको व्यवस्थापन तथा उपकरण खरिदका लागि ८२ करोड विनियोजन गरेको थियो। तर यसमा ५० वटा मात्रै अस्पतालहरू निर्माण सम्पन्न भएका हुन।
आगामी आवका लागी पनि निर्माणाधीन आधारभूत अस्पतालका लागि सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ।
मन्त्रालयको नीति योजना महाशाखाका अनुसार हरेक वर्ष निर्माणाधीन आधारभूत अस्पताललाई बजेट छुट्याउने गरिए पनि विभिन्न कारणले गर्दा लक्ष्यअनुसार ती अस्पताल बन्न सकेका छैनन्। ‘पछिल्लो दुईतीन वर्षयता हरेक आर्थिक वर्षमा यी आधारभूत अस्पतालको निर्माणका लागि महत्त्वको साथ बजेट छुट्याउने गरिएको छ तर संघ, प्रदेश र स्थानीय तहको राम्ररी समन्वय नहुने, छिटो छिटो सरकार परिवर्तन भइरहँदा आफू अनुकूलको निर्णय गर्न खोज्ने जस्ता कारणले गर्दा यी अस्पताल समयमै निर्माण हुन नसकेको महाशाखाले जनाएको छ।
यी अस्पतालहरूको भौतिक संरचना पूरा नभए पनि सरकारले हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी भने स्वीकृत गरिसकेको छ।
उक्त दरबन्दीमा पाँच शैय्याको आधारभूत अस्पतालका लागि एक मेडिकल अधिकृत, ४ स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाइकर्मी १र१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी व्यवस्था गरिएको छ।
१० शैय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स पाँच, अधिकृत दुई, हेल्थ असिस्टटेन्ट तीन र कार्यालय सहयोगी चार, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर‚ फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट र नायब सुब्बा १र१ जना र सरसफाइकर्मी दुईजना गरी २२ जनाको दरबन्दी रहने उल्लेख छ।
१५ शैय्याको अस्पताल लागि भने नवौँ वा दशौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा दुई मेडिकल अधिकृत, ६ स्टाफ नर्स र चार हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८