रचना घिमिरे
काठमाडौँ । सुपर त्रिशुली हाइड्रोका कारण त्रिशुलीको जल पर्यटन विनाश हुने व्यवसायीहरूले बताएका छन् ।
त्रिशुली जोगाउँ, नदी पर्यटन र प्रकृति बचाॐ भन्ने मुख्य उदेश्य सहित शनिबार इच्छाकामना गाउँपालिकाको फिस्लिङमा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी, स्थानीय बासिन्दा र नदी संरक्षणकर्मीहरूले यस्तो बताएका हुन्।
सुपर त्रिशुली जलविधुत आयोजनाको फिस्लिङस्थित बुटटारमा बन्ने ड्यामका कारण त्रिशुली नदीमा जलयात्रा सङ्कटमा पर्ने उनीहरूको भनाइ छ ।
बागमती प्रदेश चितवन जिल्लाका सांसद कृष्ण प्रसाद सिलवालले भने “त्रिशुको आफ्नो छुट्टै पहिचान छ, नदिलाई सबैले संरक्षण गरौं, त्रिशुली नदि अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पार्न नहुने भन्दै अफ्नो प्राण रहेसम्म त्रिशुली नदी बचाउन लागि पर्नेछु।” उनले यसलाई रोक्न आफूले सकेको पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) का अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी सङ्कटमा पर्ने बताएका छन्। साथै उनले ब्यक्तिले कमाउने भाडाँ भयो हाइड्रो पावर राज्यले ऐन, नियम कानून बनाएर नियमन गर्नुपर्नेमा जो दिए।
उनले भने, “होटल व्यवसाय, जलयात्रा र कम्पनीको गरी अर्बौ लगानी सङ्कटमा पर्छ । जलयात्रा पूर्णतया बन्द नै हुन्छ। ३५ सय पथप्रदर्शक र १० हजार मानिसको पेसा सङ्कटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।”
अध्यक्ष अधिकारीका अनुसार जल पर्यटनलाई आधार मानेर बनाइएका करोडौँ लगानीका रिर्सोट, होटल, र्याफ्टिङ कम्पनीका अर्बौ रुपैयाँ डुब्ने निश्चित भएको छ।
विश्वकै उत्कृष्ट र्याफ्टिङ गन्तव्य मानिएको त्रिशुली नदीमा बन्न लागेको उक्त ड्यामको कारण पर्यटन क्षेत्रको व्यवसाय पलायन हुन लागेको उनको भनाइ छ । राज्यले जलविद्युतलाई प्राथमिकतामा राखेर अघि बढिरहँदा जलपर्यटन र यससँग सरोकार राख्ने विषयहरूको ख्याल नगरेको विज्ञहरूको आरोप छ ।
हाइड्रोको कारण र्याफ्टिङ सकिदै गएको अध्यक्ष अधिकारीले उल्लेख गरे। उनका अनुसार संसारमै प्रसिद्ध कालीगण्डकी, सुनकोशी, तमोर, कर्णाली, मर्स्याङ्गदी र कर्णाली लगायतका क्षेत्रमा पनि राज्यले जल पर्यटन, पर्यावरणलाई ध्यान दिन सकेन । गोर्खाको बुटटार र चितवनको फिस्लिङस्थित १०० मेगावाट क्षमताको उक्त जलविधुत आयोजना बन्ने क्रममा छ।
यसले त्रिशुली नदीको जल पर्यटनलाई आधार बनाएर खुलेका कम्पनीको अर्बौ रुपैयाँको लगानी खेर जाने स्थिति देखिएको छ। साथै नदी
किनारासँग जोडिएको पर्यटन, धर्म, आस्था, मनोरञ्जन, सभ्यता, संस्कृति र खासगरी जल पर्यटन नै मासिने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।
जलविधुत आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन नै झुटो बनाएको उनीहरूको आरोप छ।
साथै, नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियान्ता मेघ आलेले भने त्रिशुली नदी विश्वविद्यालय भन्दा ठूलो छ, यो ऐतिहासिक नदी हो र त्रिशुली नदी कर्म दिने आमा हुन्, यो नदी संसारले चिन्न नदी हो यसले संस्कृत सभ्यता सबै सिकाउँछ, नेपाल भित्रिने ९० प्रतिशत पर्यटकले देख्ने नदी हो साथै पर्यटनको लागि महत्वपूण नदी हो। यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशुली नदीलाई सङ्कटमा पार्न नहुने उनले बताएका छन्।
उनले भने, “म विकास विरोधी होइन। नदी सुकाएर गरिने विकास दुर्भाग्यपूर्ण छ साथै यो त्रिशुली नदी राष्ट्रको ब्राण्ड हो यसलाई संसारले चिनेको छ।” अभियान्ता आलेका अनुसार नेपालले पर्यटनलाई जोगाउँदैन, राज्यले यसलाई पूर्ण रुपमा ध्यान नदिएको र सबै युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य बनाएको गुनासो गरे। त्रिशुलीको सभ्यता विविधता, संस्कृति र पर्यावरण नै खतरामा परेको उनले बताए । “जहाँ पायो त्यहिँ ड्याम हाल्दै हिँड्दा राफ्टिङ विश्व ब्राण्डबाट मेटिदै गएको छ,” उनले भने, “मलाई नै नसोधी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदनमा मेरो नाउँ कसरी उल्लेख भयो रु कसले दियो?” उनले प्रश्न गरे।
नदी संरक्षण अभियान्ता आले करिब ३५ वर्षदेखि र्याफ्टिङ क्षेत्रमा पनि आवद्ध छन् र उनी १९९४ मा नेपालमा राफ्टिङ्ग गराउने पहिलो व्यक्ति समेत हुन् भने उनले त्रिशुली नदीलाई सम्पदा नदी घोषणा गर्न समेत माग गरेका छन्। कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा लगायत रिभर गाइडहरूले नदीको संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेका छन् । नाराले जथाभावी जलविद्युत आयोजना निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीहरूको लगानी डुब्ने अवस्थामा पुगेको भन्दै विरोध जनाउँदै आएको छ ।
नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशुली नदीमा जलयात्रा गर्ने व्यवसायीहरूको भनाइ छ। सरकारले जलयात्राको लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य त्रिशुली हो । यसलाई मास्न खोजिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका हुन् । जलयात्रा, रिर्सोट लगायतमा ५ अर्ब रुपैयाँ लगानी छ भने यसमध्ये ३० प्रतिशत त्रिशुली नदीभित्र रहेको छ।
नाराको डाटा अनुसार मुलुकभर करिब ९१ ओटा र्याफ्टिङ व्यवसायहरू छन् जस अन्तर्गत ३५ सय भन्दा बढी गाइडहरू छन् । ८० प्रतिशतभन्दा बढी र्याफ्टिङ त्रिशुली नदीमै हुने गर्दछ । फिस्लिङस्थित बुटटारलाई त्रिशुली र्याफ्टिङको मुटु मानिन्छ। त्यहाँ जलविद्युत आयोजनाको ड्याम बन्दा नदीको पानी सुकेर राफ्टिङ व्यवासायसँगै जोडिएका सयौँ व्यवसाय लोप हुने र अर्बौ रुपैयाँको लगानी डुब्ने खतरा रहेको व्यवसायीहरूको तर्क छ।
त्यस्तै, फिस्लिङदेखि मुनी चितवनसम्मै ड्याम फुटेर आउन सक्ने बाढीको जोखिम पनि उत्तिकै रहेको र त्यहाँको बस्ती तथा बजार नै डुबानमा पर्ने सरोकारवालाको भनाइ छ । नुवाकोट जिल्लाको देबीघाटदेखि चितवनको देवघाटसम्मै त्रिशुली नदी राफ्टिङका लागि ‘मदर रिभर’का नाउँले चिनिन्छ। ‘रिभर टुरिजम’मा विकसित सो क्षेत्रमा कसरी आयोजनाले स्वीकृति पायो भन्ने विषयमा स्थानीय र व्यवसायीहरू अचम्मित बनेका छन्।
यस्तै आरोप नाराका अध्यक्षको पनि छ । उनले भने इआइएमा थाहै नपाई आफ्नो नाम राखिएको उनले बताए । “यसले वातावरणीय प्रभाव मूल्याङकनको प्रतिबेदन नै झुटो पेस गरेर आयोजना अघि बढाइएको ठहर हुन्छ,” उनले भने, “जलक्षेत्रका व्यवसायी उद्योगी पनि प्रभावित नहुने गरी स्थानिय क्षेत्रको पहिचान विकासलाई पनि मध्येनजर गरी बाटो खोज्नुपर्दछ।”
छलेर/ढाँटेर बनाएका यस्ता निर्माणले हाम्रो पर्यावरण र प्रकृतिलाई नै असर पर्ने समेत उनले बताए ।
विकास निर्माणका नाउँमा झुटो प्रतिबेदन बनाएर प्रकृतिको दोहन गर्न नमिल्ने र विकासका नाममा विनास भएको र राफ्टिङ्ग गाइडलाई नेपाल सरकारले नचिनेको स्थानीय रिभर गाइड राम गुरूङको धारणा छ। त्रिशुलीमा र्याफ्टिङ ५० वर्षअघिदेखि सुरु भएको मानिन्छ। त्रिशुली नदी विश्वमै र्याफ्टिङ (भंगालो), बटर फ्लाइ, लाइटिनिङ, मनसुन लगायत नाउँले प्रख्यात छ।
विश्वका र्याफ्टिङ क्रेजी पर्यटकहरू नेपालको त्रिशुली नदी मुख्य रोजाइमा पर्ने गरेको, यसले सभ्यताको चिन्ह दिएको र यो त्रिशुली नदीको संरक्षण नभए अन्त गएर हेर्न यही जस्तो नदी हेर्न पाइँदैन् बेनीरोराङ गाउँपालिकाका अध्यक्ष रमेश भट्टराईले बताए। “विश्वमै माउन्टेरिङपछि र्याफ्टिङ मुख्य डेस्टिनेसनमा नेपाल पर्ने गरेको छ,” उनले भने ।
अहिले इआइएको विवरण नै झुटो बनाएर पेश गरेको आरोपमा नाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विधुत विकास निगम, पर्यटन मन्त्रालय र बागमती प्रदेशका मुख्यमन्त्री कार्यलयलगायत सम्बिन्धत क्षेत्रमा उजुरीसमेत गरिसकेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८